धनगढी । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एनआइएमबी बैंक धनगढी शाखाले मानवसेवा आश्रम धनगढीलाई नगद १ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आश्रममा आश्रित असहाय, बेवारिसे, अपहेलित तथा सडकजीवन बिताउन विवश व्यक्तिहरूको संरक्षण, उपचार र दैनिकी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।
बैंकका प्रतिनिधिहरूले समाजप्रति उत्तरदायी वित्तीय संस्थाका रूपमा एनआइएमबी बैंकले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहायता जस्ता क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरे। मानवसेवा आश्रमजस्ता सामाजिक संस्थासँग सहकार्य गर्नु बैंकका लागि गर्वको विषय भएको जनाउँदै आगामी दिनहरूमा पनि यस्ता मानवीय अभियानमा साथ रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
मानवसेवा आश्रम धनगढी शाखाले प्राप्त सहयोगले आश्रममा आश्रित सेवाग्राहीहरूको भोजन, स्वास्थ्य उपचार, सरसफाइ तथा अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण सहयोग पुगेकाे छ । साथै, आश्रमले एनआइएमबी बैंक धनगढी शाखाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै निजी क्षेत्रको यस प्रकारको सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ।
मानवसेवा आश्रम विगत १३ वर्षदेखि खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश असहाय, बेसहारा, अशक्त र मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण, पालनपोषण तथा सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ।
यस्ता सामाजिक कार्यमा विभिन्न संघ–संस्था, बैंक तथा सहयोगी दाताहरूको निरन्तर साथ र सहयाेगले मानवसेवा आश्रमको सेवा विस्तारमा थप टेवा पुगेको आश्रमले जनाएको छ।