काठमाडौँ । गत माघ २२ गते नारायणगढ जाने भन्दै काठमाडौँस्थित डेराबाट निस्किएका २८ वर्षीय अरूण चौधरी तीन दिनपछि मानवसेवा आश्रम रानीवनमा फेला परेपछि परिवारसँग पुनर्मिलन भएको छ।
श्रीमान नारायणगढ जान्छु भन्दै घरबाट हिँडेपछि केही समयसम्म फोन सम्पर्क भए पनि त्यसपछि पूर्ण रूपमा सम्पर्कविहीन भएपछि उनकी श्रीमती रेनुका चौधरी चिन्तित बनेकी थिइन्। परिवारले सयौँ प्रयास गर्दा पनि अरूणको कुनै अत्तोपत्तो नलागेपछि प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदनसमेत दिएका थिए।
यसैबीच, शनिबार चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बसपार्क क्षेत्रबाट अलपत्र अवस्थामा फेला परेका अरूणलाई नेपाल प्रहरीले उद्धार गरी संरक्षणका लागि मानवसेवा आश्रम रानीवन ल्याएको थियो। उद्धारका क्रममा अरूण मानसिक रूपमा कमजोर अवस्थामा रहेको र टाउको, अनुहार तथा हातमा चोट लागेको देखिएको थियो। आश्रमले प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आवश्यक संरक्षण प्रदान गरेको थियाे ।
उद्धार भएको २४ घन्टा नबित्दै प्रहरीमार्फत अरूण आश्रममा सुरक्षित रहेको जानकारी परिवारले पाएपछि आइतबार बिहान श्रीमती रेनुका चौधरी र उनका साथी भुपेन्द्र चौधरी आश्रम पुगेका थिए। आश्रममा श्रीमानलाई भेट्दा उनी भावुक बनेका थिएन् भने उनलाई सकुशल अवस्थामा देख्न पाउँदा अत्यन्तै खुसी देखिन्थ्यो। चोट कसरी लागेको भन्ने विषयमा भने स्पष्ट कारण खुल्न सकेको छैन।
आवश्यक प्रक्रिया पूरा गरी मानवसेवा आश्रमले आइतबार नै अरूण चौधरीको पारिवारिक पुनर्मिलन गराएको छ। परिवारले उद्धार, संरक्षण र पुनर्मिलनमा सहयोग पुर्याएकोमा मानवसेवा आश्रम तथा प्रहरीप्रति आभार व्यक्त गरेको छ।
मानवसेवा आश्रमले सडकपेटी तथा सार्वजनिक स्थानमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको जनाएको छ।