हेटाैँडा । मानवता, सेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कावासोती–३ नवलपरासीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसमा BSW ध्ययनरत विद्यार्थीहरूले मानवसेवा आश्रमको मुख्य कार्यालय भ्रमण गरेका छन्। सोही अवसरमा विद्यार्थीहरूले आश्रितहरूको सेवा सहजीकरणका लागि आवश्यक खाद्य सामग्री समेत हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, मनहरी–७ हेटौँडा निवासी सामरी परिवारले स्वर्गीय आमा सानी नानी सामरीको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम मुख्य कार्यालयमा उपस्थित भइ आश्रितका लागि खाजासेवा अर्पण गर्दै आवश्यक जिन्सी सामग्री पनि सहयोग प्रदान गरेका छन्।

साथै, धनगढी उपमहानगरपालिका–२, सन्तोसी टोल निवासी दीर्घबहादुर सिंहले आफ्नी श्रीमती अन्जु सिंहको जन्मदिनको अवसरमा आश्रितका लागि आवश्यक खाद्यान्न सामग्री अर्पण गर्नुभएको छ। विद्यार्थीहरू र परोपकारी दाताद्वारा गरिएको सहयोगप्रति मानवसेवा आश्रम परिवारले हार्दिक आभार व्यक्त गरेकाे छ ।

मानवसेवा आश्रमले विगत १३ वर्षदेखि खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन बालबालिका तथा शारीरिक र मानसिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं सम्भव हुनेहरूकाे पारिवारिक पुनर्मिलन गर्दै आएको छ।