पोखरा । मानवसेवा आश्रमले संस्थागत सुदृढीकरण र सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पोखरामा आजदेखि तीन दिने स्नेहमिलन तथा कार्यशाला कार्यक्रम सुरु गरेको छ।
मंगलबारसम्म सञ्चालन हुने उक्त कार्यशालामा आश्रमलाई अटो–पाइलट मोडमा सञ्चालन गर्दै व्यक्तिमा नभइ, प्रणालीमा आधारित संस्थागत संरचना कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा गहन विचार–विमर्श भइरहेको छ। साथै, आश्रमको दीर्घकालीन लक्ष्यअनुसार सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणाका लागि आवश्यक आधार र रणनीतिमाथि समेत छलफल केन्द्रित गरिएको छ।

कार्यशालामा आश्रमको कार्य सञ्चालनसँग सम्बन्धित विभिन्न विभागका अधिकृतहरूले आ–आफ्नो सेवा गतिविधि, कार्य प्रणाली र अनुभवका आधारमा प्रस्तुतिकरण गरिरहेका छन्। यस क्रममा देश घोषणाका लागि अनिवार्य संवाहकका रूपमा रहेका कर्मचारी र अभियन्ताबीच आपसी समझदारी, समन्वय र सुमधुर सम्बन्ध निर्माणमा महत्वपूर्ण योगदान पुगेको छ।

तीन दिने कार्यक्रममा देशभरका मानवसेवा आश्रमका सेवारत अभियन्ता तथा केन्द्रीय विभागका अधिकृतहरूको उल्लेखनीय सहभागिता रहेको छ। साथै, आश्रमअन्तर्गतका विभागीय अधिकृतहरूले आफ्ना सेवा, प्रणाली तथा कार्यशैलीबारे विस्तृत प्रस्तुति दिँदै सेवा प्रवाहका क्रममा देखिएका कमीकमजोरी पहिचान गरी सुधारका लागि व्यावहारिक सुझाव आदान–प्रदान गरिरहेका छन्।
कार्यक्रममा सवाल–जवाफसहित अन्तरक्रियात्मक छलफल गरी आश्रमलाई दिगो रूपमा संरचनागत प्रणालीतर्फ अघि बढाउने आधार तयार गर्ने उद्देश्य रहेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभयो।