नेपालगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्जले मानवीय सेवालाई प्राथमिकता दिँदै बुधबार मानवसेवा आश्रम नेपालगञ्ज शाखाकाे संरक्षणमा रहनुभएका आश्रितहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेकाे छ । सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्जको साझेदारीमा आयाेजना गरिएकाे स्वास्थ्य परीक्षणबाट ६० जना आश्रितहरू लाभान्वित भएका हुन्।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक (एसपी) डा. अच्युतविक्रम हमालको विशेषज्ञ टोली आश्रममा पुगेर आश्रितहरूको स्वास्थ्य परीक्षण गरेकाे हाे।

कार्यक्रममा टोलीमा प्राविधिकतर्फ प्रहरी हवल्दार सुमन खड्का, मुकेश कुमार शुक्ला र प्रहरी जवान कलमविर चौधरी सहभागी थिए। टोलीले आश्रितहरूको मधुमेह,रक्तचाप, जाँच, सामान्य स्वास्थ्य परीक्षण र आवश्यक मानसिक स्वास्थ्य परामर्श प्रदान गर्दै आवश्यक औषधि समेत वितरण गरेकाे थियाे । सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्जका अध्यक्ष दिपेन्द्रकुमार जोशीकाअनुसार, खुला सडकपेटी तथा सार्वजनिक स्थलबाट उद्धार गरिएका आश्रितहरूको स्वास्थ्य अवस्था पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

स्वास्थ्य परीक्षणका क्रममा जटिल समस्या देखिएका व्यक्तिहरूलाई लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा पुनः जाँच गराउने सुझाव डाक्टर हमालले दिनुभयो। कार्यक्रममा प्रहरी निरीक्षक जीवराज थापा (क्षेत्री), प्रहरी सहायक निरीक्षक अमित पौडेल, प्रहरी सहायक हवल्दार अनिता सुनार, प्रहरी जवान रत्नबहादुर बिक तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव विवेककुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
मानवसेवा आश्रम नेपालगञ्ज शाखाले वि.सं २०७९ साल असार २५ गते नेपालगञ्ज उपमहानगरपालिका–१० मा सेवा शुभारम्भ गरेको हो।