दाङ । बुधबार दाङ जिल्लालाई औपचारिक रूपमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको छ। घोषणा कार्यक्रमअघि जिल्लामा जनचेतनामूलक र्याली आयोजना गरिएको थियो।
कार्यक्रममा उपस्थित सबैलाई “हामी प्रतिबद्ध छौँ” भन्ने भावसहित सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला बनाइराख्ने सामूहिक शपथ खुवाइएको थियो। यस अवसरमा नीलसागर सेवाश्रम अध्यक्ष डा. सरिता निलसागरज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यूले प्रतिबद्धता मन्तव्य राख्दै दाङ जिल्लामा मानवीय सेवाको निरन्तरताका लागि सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा दाङ जिल्लामा मानवीय सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नीलसागर सेवाश्रम, मानव कल्याण समाज र मानवसेवा आश्रमलाई सम्मान गरिएको थियो।

कार्यक्रमको आयोजना जिल्ला समन्वय समिति, दाङको कार्यालयले गरेको हो भने मानवसेवा आश्रम, नीलसागर सेवाश्रम, मानव कल्याण समाज तथा दाङ जिल्लाका १० वटै स्थानीय तहहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हाे।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन सेवा निरन्तर रूपमा प्रदान गर्दै आएको छ।
यसअघि गण्डकी र कर्णाली प्रदेश, मकवानपुर, झापा, बाजुरा जिल्ला, भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, गोरखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, हरिवन नगरपालिका, तिलोत्तमा नगरपालिका तथा माडी नगरपालिका, देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा भइसकेका छन्।
आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण गर्ने लक्ष्यसहित देशभर २९ वटा शाखा विस्तार गरी उद्धार अभियानलाई तीव्र पारिरहेको जनाएको छ।