वीरगञ्ज । सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूकाे सेवामा निरन्तर क्रियाशील मानवसेवा आश्रम वीरगञ्ज शाखाले आर्थिक वर्ष २०८०/०८१ को सामाजिक लेखा परीक्षण तथा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।
आइतबार आयोजित कार्यक्रममा शाखाले गत आर्थिक वर्षमा ५५ लाख ९ हजार ९ सय ४५ रुपैयाँ आम्दानी गरेकाे छ भने शाखाकाे कुल खर्च ६१ लाख ९४ हजार ७ सय २८ रुपैयाँ रहेको छ । यस अवधिमा शाखालाई ६ लाख ८५ हजार ५ सय ७० रुपैयाँ बराबरकाे घाटा रहेको देखिन्छ ।
शाखाकाे यस वर्षको सम्पत्ति ४५ लाख १२ हजार ८ सय ८७ रुपैयाँ तथा कुल दायित्व ९५ लाख ७६ हजार ४ सय २७ रुपैयाँ रहेको छ। शाखाको कुल सम्पत्ति भने ३ कराेड ६ लाख २९ हजार ८ सय ९६ रुपैयाँ कायम रहेको छ।
यस्तै, आश्रमसँग नगद मौज्दात ३३ हजार २ सय ११ रुपैयाँ रहेको छ भने विभिन्न बैंक खातामा गरी १ करोड ४ लाख ७८ हजार ८ सय २४ रुपैयाँ बराबरको मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ।
सरकारी निकायबाट प्राप्त सहयोगअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयबाट २ लाख ४२ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। अक्षयकोषतर्फ कुल २ लाख २२ हजार २ सय २६ रुपैयाँ जम्मा भएकाे छ ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेश विश्वविद्यालयका उपकुलपति तथा मानवसेवा आश्रमका संस्थापक संरक्षक प्रा.डा.दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारालगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि मन्त्री पटेलले आश्रमको मानवीय सेवाको प्रशंसा गर्दै आगामी दिनमा सरकारी तवरबाट हुने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले २०७४ जेठ १५ गते संस्थाको आठौँ जिल्ला शाखाका रूपमा औपचारिक सेवा शुभारम्भ गरेको हाे । यो। स्थापना यता २०७४ देखि २०८२ सालसम्म शाखाले ३ सय २३ जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गर्नुका साथै १ सय ३३ जनाको पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ।
गत एक वर्षको अवधिमा मात्रै शाखाले ३७ जनाको उद्धार तथा १३ जनाको पारिवारिक पुनर्मिलन गराएको छ। हाल वीरगञ्ज शाखाले ४८ जना सडकआश्रित व्यक्तिहरूलाई सुरक्षित आश्रय, भोजन र संरक्षण सेवा प्रदान गर्दै आएको छ। कार्यक्रमको सहजीकरण आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले गर्नुभएको थियो।