भक्तपुर । मानवसेवा आश्रम भक्तपुर शाखाले वार्षिक प्रगति प्रतिवेदन तथा सामाजिक लेखा परीक्षण कार्यक्रम आइतबार सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका वडा-० ३ भक्तिुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा संस्थाकाे आय–व्यय विवरण र सेवा गतिविधिहरू सार्वजनिक गरिएकाे हो।
आश्रमले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा कुल ७३ लाख ७ हजार ८ सय ५ रुपैयाँ सेवा योगदान भएको छ भने सोही अवधिमा ६० लाख ३९ हजार ७ सय ६७ रुपैयाँ सेवा खर्च भएकाे छ। यसरी आश्रमले १२ लाख ६८ हजार ३७ रुपैयाँ बचत गर्न सफल भएको छ।
संस्थाको कुल सम्पत्ति २८ लाख ३२ हजार ४ सय ३४ रुपैयाँ रहेको छ भने अक्षयकोषमा हालसम्म ५ लाख ४ हजार ४ सय ४४ रुपैयाँ मौज्दात रहेको जानकारी गराइएको छ। यस्तै, विभिन्न सरकारी निकायहरूबाट भक्तपुर शाखालाई कुल ५ लाख ९७ हजार ४सय ९२ रुपैयाँ सहयोग प्राप्त भएको छ। जसमा मेलम्ची नगरपालिका सिन्धुपाल्चोकबाट ५ लाख रुपैयाँ र रामेछाप नगरपालिकाबाट ९७ हजार ४९२ रुपैयाँ सहयोग प्राप्त भएको आश्रमले जनाएकाे छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको उपस्थितिमा सम्पन्न कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, दाता सहयाेगी तथा मानवसेवा अभियन्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले आश्रमले गर्दै आएको मानवीय सेवा सराहनीय रहेको बताउँदै सेवाको प्रभावकारिता विस्तार गर्न सुझाव दिएका थिए।
कार्यक्रमले नविन बन्जाडे एण्ड एसोसियट्सद्वारा तयार पारिएको अडिट प्रतिवेदन तथा संस्थाको वार्षिक प्रगति प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरिएकाे छ ।
मानवसेवा आश्रम भक्तपुर शाखाले हालसम्म ५७ जना पुरुष र २ सय २३ जना महिला गरी जम्मा २ सय ८० जनाको उद्धार गरिसकेको छ भने ८९ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ। हाल आश्रममा ३९ जना आश्रितहरू संरक्षणमा रहेका छन्।