विराटनगर । मानवसेवा आश्रम विराटनगर शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक सेवा प्रगति प्रतिवेदन तथा सामाजिक लेखा परीक्षण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। विराटनगर महानगरपालिका वडा-५, धनियाँटोलस्थित आश्रम सभाहलमा आयोजित कार्यक्रममा संस्थाले एक वर्षको आय–व्यय र सेवा गतिविधिहरूलाई सार्वजनिक गरेकाे हाे ।
आर्थिक विवरण अनुसार गत आर्थिक वर्षमा जम्मा १ करोड १८ लाख ८२ हजार २२६ रुपैयाँ सेवा योगदान (आम्दानी) प्राप्त भएको थियो भने सेवा कार्यमा १ करोड ३९ लाख ५२ हजार ४ सय ८३ रुपैयाँ खर्च भएको छ । आश्रमको चालु खर्चतर्फ करिब २० लाख ७० हजार २ सय ५७ रुपैयाँ न्यून देखिन्छ ।
संस्थाको कुल सम्पत्ति ४ करोड २ लाख २७ हजार ६ सय ४५ रुपैयाँ पुगेको आय–व्यय विवरणमा उल्लेख छ । यस्तै, अक्षयकोषमा हालसम्म ५ लाख ४३ हजार २ सय २२ रुपैयाँ जम्मा भएको जानकारी दिइएकाे छ ।
सरकारी निकायको ठूलो सहयोग आश्रमलाई विभिन्न सरकारी निकायहरूबाट कुल ६७ लाख १८ हजार ७८६ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा सबैभन्दा धेरै विराटनगर महानगरपालिका (सामाजिक विकास मन्त्रालय समेत) बाट २९ लाख ४२ हजार ५४७ रुपैयाँ प्राप्त भएको छ । यसका साथै रतुवामाई नगरपालिका, धरान उपमहानगरपालिका, फिदिम नगरपालिका, वेलका, र इनरुवा नगरपालिका र जहदा गाउँपालिकाले पनि आश्रमलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
सहभागिता र सुझाव विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सराेकारवाला निकाय, विभिन्न वडाका जनप्रतिनिधि, सहयाेगी दाता, आश्रमका अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
मानवसेवा आश्रमले कुनै पनि मानिसले सडकपेटी वा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन व्यतित गर्न नपरोस् भन्ने उद्देश्यका साथ वि.सं २०७६ भदौ १३ गते मोरङमा शाखा विस्तार गरेको हो। स्थापनाकालदेखि विराटनगर शाखाले मानवता, करुणा र सकारात्मक सोचलाई आधार बनाएर सहयोगापेक्षी उद्धार, पारिवारिक पुनर्मिलन र संरक्षणमा सक्रिय रहँदै आएकाे छ । सेवा शुभारम्भदेखि अहिलेसम्म शाखाले ८ सय ७९ जनाको उद्धार र ३ सय ६८ जनाको पुनर्मिलन सम्पन्न गरिसकेको छ भने पछिल्लो एक वर्षमा मात्र १ सय २२ जनाको उद्धार र ३७ जनाको पुनर्मिलन गरेकाे छ। हाल विराटनगर शाखामा बालबालिकासहित १ सय २१ संरक्षणमा रहेका छन्।