सुर्खेत । सुर्खेतस्थित नेपाल एसबीआई बैंकले मानवसेवा आश्रम सुर्खेत शाखालाई खाद्यान्न हस्तान्तरण गरेकाे छ । सुर्खेत शाखाको संरक्षणमा रहनुभएका ८७ जना आश्रितहरूको सेवा व्यवस्थापनमा सहयाेग पुग्ने उद्देश्यले खाद्यान्न सामग्री हस्तान्तरण गरिएकाे बैंकले जानकारी दिएकाे छ ।
नेपाल एसबीआई बैंक लिमिटेड, सुर्खेत शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मानवसेवा आश्रम सुर्खेत शाखालाई १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो। उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको पोषण, स्वास्थ्य तथा सम्मानजनक जीवनयापनमा प्रत्यक्ष योगदान पुगेकाे छ ।
व्यक्तिगत तथा संस्थागत तहबाट प्राप्त हुने यस्ता सहयोगहरूले आश्रमको दीर्घकालीन सञ्चालन, सेवा विस्तार र मानवीय उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण आधार निर्माण गरिरहेको आश्रमले जनाएको छ। यसले मानवीय सेवामा निजी क्षेत्रको भूमिका थप प्रभावकारी बन्दै गएको संकेत समेत गरेको छ।
संघ, प्रदेश तथा स्थानीय तहका सरकारहरूको सहयोगसँगै सहृदयी मनकारी दाताहरूको निरन्तर साथमा मानवसेवा आश्रम देशभर मानवीय सेवामा क्रियाशील रहँदै आएको छ। सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित मानवसेवा आश्रमले वि.सं २०६९ साल भदौ १३ गते मकवानपुरको हेटौँडाबाट आफ्नो सेवायात्रा प्रारम्भ गरेको हो।
आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका सडक मानवहरूको उद्धार, संरक्षण, उपचार तथा व्यवस्थापन गर्दै आएको आश्रमले हाल देशभरका २१ जिल्लामा २९ वटा शाखा मार्फत हजारौँ बेसाहरा व्यक्तिहरूलाई जीवनको नयाँ आशा प्रदान गरिरहेको छ।