पोखरा । मानवसेवा आश्रम पोखरा शाखाले स्थापना समयदेखि हालसम्म १ हजार ६ सय ४९ जना सडक मानवको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ७ सय २ जना पुरुष र ९ सय ४७ जना महिला रहेका छन् ।
आश्रमले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा हालसम्मको प्रगति प्रतिवेदन तथा वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनअनुसार उद्दार गरिएका मध्ये १ हजार १ सय ५७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । जसमा ६ सय ९५ जना पुरुष र ४ सय ६२ जना महिला रहेका छन् ।
आश्रमले पारिवारिक पुनर्मिलन वा स्वेच्छाले आश्रम छाडेर पुनः सडक आश्रित बन्न पुगेकाहरुलाई समेत उद्दार गर्दै आएको छ । यस क्रममा पोखरा शाखाले हालसम्म २ सय ७५ जनाको पुनः उद्धार गरेको जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्र पोखरा शाखाले २ सय ८३ जनाको उद्धार गरेको छ । जसमा १ सय ७१ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् । सो अवधिमा उद्धार गरिएकामध्ये १५ जनाको निधन भएको छ भने ९० जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । सबैभन्दा बढी कास्की जिल्लाको पोखरा महानगरपालिकाबाट सडक सहयोगापेक्षी मानवको उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मानवसेवा आश्रमले समाजमा खेलेको भूमिकाको प्रशंसा गर्दै समय–समयमा सामाजिक लेखा परीक्षण, सार्वजनिक सुनुवाइ तथा आय–व्यय सार्वजनिक गर्न सुझाव दिए । उनले गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै मानसिक स्वास्थ्य उपचार केन्द्रको आवश्यकता औंल्याए । पोखरा सिर्जनाचोकस्थित समन्वय समितिको जग्गामा उपचार केन्द्र स्थापना गर्ने प्रयास प्रदेश सरकारको बेवास्ताका कारण पूरा हुन नसकेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले वडामा सडक मानव बढी भेटिने क्षेत्र भए पनि मानवसेवा आश्रमको सक्रियतापछि समस्या घट्दै गएको बताए । सडक आश्रितहरुलाई आश्रमसम्म लैजान वडाले निरन्तर समन्वय गर्दै आएको उनले जानकारी दिए ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरालाई सडकमानवरहित सहर बनाउने अभियानमा मानवसेवा आश्रमको भूमिका महत्त्वपूर्ण रहेको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले सडक सहयोगापेक्षी मानव व्यवस्थापनमा मानवसेवा आश्रमको योगदानका कारण पोखरामा सडक मानवको संख्या उल्लेख्य रूपमा घट्दै गएको बताए ।