दाङ । मानवसेवा आश्रम दाङ शाखाले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरणसहित सेवा प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। तुलसीपुर उपमहानगरपालिका–६,गाइडरस्थित शाखामा शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी एक वर्षमा सञ्चालन भएका सेवा गतिविधि, आम्दानी तथा खर्चसम्बन्धी विवरण सार्वजनिक गरिएकाे हो।
आश्रमले प्रस्तुत गरेको विवरणअनुसार चालुतर्फ जम्मा सेवा योगदान १ कराेड १० लाख १ सय ११ रुपैयाँ रहेको छ भने सेवा खर्च ७८ लाख ३९ हजार १ सय १० रुपैयाँ रहेको छ। यस अवधिमा ३१ लाख ६१ हजार ६७ रुपैयाँ घाटा देखिएको छ। त्यस्तै, पुँजीगत आम्दानीतर्फ ६ लाख ६७ हजार २ सय ५५ रुपैयाँ आम्दानी भएको र ७० हजार ७ सय १९ रुपैयाँ खर्च भएको छ।
सामाजिक लेखा परीक्षण विवरणअनुसार आश्रमको कुल सम्पत्ति २ कराेड ९८ लाख ६९ हजार ४ सय ६३ रुपैयाँ पुगेको छ। यसमध्ये नगद मौज्दात ८ सय रुपैयाँ र बैंक मौज्दात २२ लाख ५३ हजार रुपैयाँ रहेको छ।
साे अवधिमा ८१ जना सडकआश्रित व्यक्तिहरूको उद्धार गरिएकोमा ३१ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ। हाल शाखामा २६ महिला र ५४ पुरुष गरी ८० आश्रित रहेका छन् ।
उक्त सेवामार्फत सडकआश्रित तथा बेसहारा व्यक्तिहरूको जीवन संरक्षण, स्वास्थ्य उपचार, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापनामा उल्लेखनीय योगदान पुगेको आश्रमले जनाएको छ। कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, दाता, पत्रकार, समाजसेवी तथा आश्रमका अभिभावक र कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आश्रमले सडक मानव उद्धार तथा पुनःस्थापनामा खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै लैजान सुझाव दिएका थिए।
मानवसेवा आश्रम दाङ शाखा २०७८ मंसिर ४ गते विधिवत् रूपमा स्थापना भई मानवता, करुणा तथा सकारात्मक सोचलाई केन्द्रमा राखी मानवताको संरक्षण, संवर्द्धन तथा विकास गर्ने अभियानमा निरन्तर सक्रिय रहँदै आएको छ।