सुर्खेत । मानवसेवा आश्रम सुर्खेत शाखाको आर्थिक वर्ष ०८१/०८२ को सेवा प्रगति प्रतिवेदन तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। वीरेन्द्रनगर नगरपालिका-१२, नेवारे टोलस्थित शाखाको प्राङ्गणमा साेमबार आयोजित कार्यक्रममा सरोकारवाला निकाय,सहयोगी दाता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि,आश्रमका अभिभावकहरूको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा आश्रमले आ.व. ०८१/०८२ मा सम्पन्न गरेका सेवा गतिविधि, उद्धार तथा पारिवारिक पुनर्मिलन सेवा, आय–व्यय विवरण तथा वित्तीय अवस्था सार्वजनिक गरेको थियो। प्रस्तुत सामाजिक लेखा परीक्षण प्रतिवेदनअनुसार चालु सेवा सञ्चालनतर्फ जम्मा सेवा योगदान १ करोड ३४ लाख ५२ हजार ४ सय ४१ रुपैयाँ रहेको छ भने जम्मा सेवा खर्च १ करोड ४३ लाख २९ हजार २ सय ४६ रुपैयाँ रहेको छ। यस अवधिमा ८ लाख ७६ हजार ८ सय ३२ रुपैयाँ बराबरको घाटा देखिएको छ।
त्यसैगरी पुँजीगततर्फ जम्मा आम्दानी ४ करोड २२ लाख ३७ हजार ९ सय ३७ रुपैयाँ र जम्मा पुँजीगत खर्च ६४ लाख ७८ हजार २ सय ३४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षसम्मको अक्षयकोषमा १३ लाख ४१ हजार ५ सय २२ रुपैयाँ मौज्दात रहेकोमा चालु आर्थिक वर्षमा थप ४ लाख ४५ हजार ४सय ४४ रुपैयाँ संकलन भई कुल अक्षयकोष १७ लाख ८६ हजार ९ सय ६६ रुपैयाँ पुगेको छ।
सामाजिक लेखा परीक्षण विवरणअनुसार आश्रमको कुल सम्पत्ति ४ करोड ५० लाख १० हजार १६ रुपैयाँ रहेको छ। जसअन्तर्गत नगद मौज्दात र बैंक मौज्दात गरी जम्ममा ६२ लाख १९ हजार १ सय ९० रुपैयाँ रहेको छ। साथै, आश्रमको कुल सञ्चित कोष ५९ लाख २१ हजार ६सय ३८ रुपैयाँ रहेको छ।
कार्यक्रममा सहभागीहरूले केही नभएका र कोही नभएका व्यक्तिहरूको सेवामा आश्रमले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको पारदर्शिता, जवाफदेहिता र सेवा प्रभावकारितालाई सामाजिक लेखा परीक्षणले थप मद्दत पुर्याएकाे बताएका थिए।
मानवसेवा आश्रम सुर्खेत शाखाले आगामी दिनमा बेवारिसे व्यक्तिकाे उद्धार, संरक्षण तथा पुनर्मिलन सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।