पोखरा । मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूको सेवा सहज बनाउन मनकारी दाताहरूले विवाह वर्षगाँठ, जन्मदिन, पितृको स्मृति, विवाह तथा अन्य विशेष अवसरहरू पारेर स्वेच्छिक रूपमा सहयोग गर्दै आइरहनुभएको छ।
हिन्दू धर्ममा अनेक विधि एवं संस्कार छन्। कतिपय संस्कार लोप हुँदै गैरहेका छन्। यद्यपि ८४ वर्षको उमेरमा गरिने ८४ पूजा यद्यपि कायमै छ। यसै क्रममा पोखरा महानगरपालिका–१३, काउखोला निवासी रनबहादुर गुरुङले आफ्नो चौरासी पूजा पूजाको पावन अवसरमा मानवसेवा आश्रमलाई ३३ हजार ५ सय रूपैयाँआर्थिक सहयोग प्रदान गर्नुभएको छ।
दुःखी, असहाय, कोही नभएका र केही नभएका व्यक्तिहरूको सेवामा थोरै भए पनि योगदान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयाे ।
गुरुङ परिवारको तर्फबाट प्राप्त उक्त सहयोगले मानवसेवा आश्रम हेम्जा शाखामा आश्रित व्यक्तिहरूको भोजन सेवा सञ्चालनमा टेवा पुगेको छ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवा प्रदान गर्दै आएको छ ।