दाङ। मानवसेवा आश्रमको सहकार्यमा आइतबार तुलसीपुर उपमहानगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले घोषणापत्र वाचन गरी मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गर्दै औपचारिक घोषणा गर्नुभएको हो।

घोषणासँगै उपमहानगरपालिका र मानवसेवा आश्रमबीच असहाय तथा बेसहारा व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि द्विपक्षीय सम्झौता गरिएको छ। घोषणा पत्र वाचन गर्दै नगरप्रमुख खड्काले स्थानीय सरकार सञ्चालन ऐनअनुसार कोही र केही नभएकाहरूको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने व्यवस्था अनुरूप नगरले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो।
तुलसीपुर उपमहानगरपालिकाे आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अनुसार नगरलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो। नगरप्रमुख खड्काले सडकआश्रित मानवरहित तुलसीपुर नगरवासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको उपस्थितिमा नगरलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो। घोषणासँगै अब तुलसीपुर उपमहानगरपालिकामा कोही पनि बेसहारा, बेवारिसे, अशक्त वा अनाथ भएर सडक जीवन बिताउनुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ।

मानवसेवा आश्रम दाङ शाखाले स्थापनाकालदेखि हालसम्म ३ सय जनाको उद्धार तथा १ सय २१ जनाको सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ भने हाल आश्रममा ८ जना बालबालिकासहित ७८ जना व्यक्ति संरक्षणमा रहेका छन्।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार तथा उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन सेवा प्रदान गर्दै आएको छ।
यसअघि गण्डकी र कर्णाली प्रदेश, मकवानपुर, झापा, बाजुरा जिल्ला, भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, गोरखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, हरिवन नगरपालिका, तिलोत्तमा नगरपालिका तथा माडी नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा भइसकेका छन्।

आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण गर्ने लक्ष्यसहित देशभर २९ वटा शाखा विस्तार गरी अभियान सञ्चालन गरिरहेको छ।