काठमाडाैँ । सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे भई जोखिमपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमले मंसिर महिनाभरि कुल १६० जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १ सय १३ जना पुरुष र ४७ जना महिला रहेका छन्।
आश्रमका देशभर रहेका शाखाहरूले प्रभावकारी सेवा प्रदान गर्दै १६० जनालाई उद्धार गरी सुरक्षित आश्रय प्रदान गरेका हुन् ।जसमध्ये रानीवन शाखाबाट १९, तिलोत्तमाबाट १७, हेम्जा र दाङबाट समान १४/१४, ललितपुरबाट १२, चितवनबाट ११, रौतहटबाट १० जना तथा सुर्खेत र धरान शाखाबाट समान ७/७ जनाको उद्धार गरिएको हो।
त्यसैगरी, आश्रमले विभिन्न समयमा उद्धार गरी आश्रय प्रदान गरिएका व्यक्तिहरूमध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी पारिवारिक पुनर्मिलनसमेत गराउँदै आएको छ। मंसिर महिनामा मात्र आश्रमले ८५ जना आश्रितको सुखद् पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ। जसमध्ये सबैभन्दा बढी रानीवन शाखाबाट १६ , रौतहटबाट ११, दाङबाट ६, हेम्जा र तिलोत्तमा शाखाबाट समान ५/५ जना गरी ८५ जनालाई आश्रमको नियमअनुसार प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ।
मानवसेवा आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गरिरहेका बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवामा समर्पित रहने उद्देश्यले मकवानपुरको हेटौँडामा मुख्य कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेको हो।