काठमाडौँ । मानवसेवा आश्रमले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार, आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्ने सदस्यहरूको संख्या २ सय २१ जना पुगेको छ।
जसमध्ये मुख्य कार्यालयमा हेटाैँडामा ७२, रानीवनमा २६, चितवनमा २५, तिलोत्तमा र सामाखुसीमा १६/१६, सुर्खेतमा १५, हेम्जामा ११, धनगढीमा १०, मोरङ र भक्तपुरमा ४/४, नेपालगञ्ज, बुटबल, छोरेपाटनमा ३/३, गोरखा र लमजुङमा २/२, तथा झापा, वीरगञ्ज, सर्लाही, जनकपुर, ललितपुर र दाङ शाखामा १/१ सदस्यता रहेका छन्।
आजीवन वार्षिक भोजनसेवा अभियान आश्रमको सेवा स्थायित्व र दीर्घकालीन व्यवस्थापनका लागि महत्वपूर्ण अभियान हाे ।जसका लागि दाताहरूले १ लाख ११ हजार १ सय ११ रूपैयाँ योगदान गरी आश्रितहरूलाई आफ्नो इच्छाअनुसार वार्षिक रूपमा एकपटक जीवनभर भोजनसेवा गराउने अवसर प्राप्त गर्ने गर्छन् ।
यसैगरी, आश्रमको अक्षयकोषमा १ सय ३५ जनाले सहयाेग गरेका छन्। दाताहरूले इच्छाअनुसार रकम प्रदान गरी आश्रमका आश्रितहरूको भोजन, उपचार, आवास, शिक्षा तथा पालनपोषणमा सहयोग गर्न सक्छन्। योगदान रकम १० हजार देखि १४ लाख ७० हजारसम्म सहगाेग गरेका छन्।
आफ्ना लागि आफैं केही गर्न नसक्ने केही र काेही नभएका व्यक्तिहरूको उद्धार गरी जीवन रक्षा तथा पुनर्स्थापनाका लागि मानवसेवा आश्रम वि.सं. २०६९ भाद्र १३ गते मकवानपुरकाे हेटाैँडाबाट सेवा शुभारम्भ गरेकाे हाे । आश्रमले सरकारको आंशिक सहयोग र देश–विदेशमा बसोबास गर्ने दाताहरूको निरन्तर सहयाेग र सद्भावबाट देशभर २९ वटा शाखाहरू विस्तार गरी सहयाेगापेक्षी व्यक्तिहरूलाई सेवा प्रदान गरिरहेकाे छ ।