काठमाडौँ । किताब यात्रा फाउन्डेसनद्वारा आयोजित ‘किताब जात्रा’को ७ औँ संस्करण आज नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ।
साहित्य, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय किताब जात्रामा यस वर्ष पनि बहुआयामिक छलफल, साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिहरू समेटिएका छन्। उद्घाटन सत्रमा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी वक्ताका रूपमा सहभागी हुनुभएकाे थियाे ।

सकारात्मक सोच, उत्प्रेरणा र मानवीय सेवासम्बन्धी महत्वपूर्ण प्रसङ्गहरू प्रस्तुत गर्दै उहाँले साहित्य र पुस्तकले समाजमा सकारात्मक चेतना निर्माणबारे धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, कलाकार, लेखक, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दुई दिनसम्म चल्ने यस कार्यक्रमअन्तर्गत आज र भोलि कविता–गजल सत्र, पुस्तक प्रदर्शनी, हस्तकला प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा विविध विचारविमर्श गरिनेछन्। किताब यात्रा फाउन्डेसनले निरन्तर रूपमा पुस्तक संस्कृति प्रवर्द्धन, युवामा अध्ययन संस्कार विकास र साहित्यिक माहोल सुदृढीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
भोलिको विशेष आकर्षणका रूपमा गायिका झुमा लिम्बुको प्रस्तुति तथा कवाली संगीत रहने आयोजकले जानकारी दिएको छ।