काठमाडौँ । आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर विविध कार्यक्रमसहित मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १० का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघले सन् १९४८ डिसेम्बर १० मा जारी गरेको घोषणापत्रले मानवीय मूल्य, स्वतन्त्रता र न्यायलाई आधुनिक सभ्यताको आधारस्तम्भका रूपमा स्थापित गरेको मानिन्छ।
मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले स्वीकृत गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा मनाइने यो दिवसले जाति, धर्म, लिङ्ग, भाषा, विचार वा सामाजिक पृष्ठभूमिका आधारमा कुनै भेदभाव नगरी सबै मानवलाई समान अधिकार सुनिश्चित गर्ने सन्देश फैलाउँछ। नेपालमा पनि यस दिवसमार्फत जनचेतना अभिवृद्धि, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणका लागि प्रेरणा प्रदान हुँदै आएको छ।
यससँगै मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, तथा नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी १९६६ ले प्रत्येक व्यक्तिले आफ्नो अधिकारका साथै अरूको अधिकारका लागि वकालत गर्न पाउने ग्यारेन्टी प्रदान गर्छ।
नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र रूपमा भेला हुन पाउने अधिकार र सङ्गठन खोल्न पाउने स्वतन्त्रता समेत सुनिश्चित गरेको छ। साथै नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा तथा संरक्षणका लागि २०७७ मा मानव अधिकारकर्मी सुरक्षा तथा संरक्षणसम्बन्धी आदेश जारी गरेको छ।