धरान । धरान उपमहानगरपालिका–११ स्थित रमाइलो देउसी भैलो समूहले भैलोबाट संकलन गरेको रकम मानवसेवा आश्रम धरानलाई सहयोग गरेको छ। सोमबार समूहले भोजनसेवा गराउँदै २२ हजार रुपैयाँ बराबरको ज्याकेट समेत आश्रमलाई प्रदान गरेको हो।

कार्यक्रममा धरान उपमहानगरपालिका–१६ का वडाध्यक्ष मुरारी भट्टराई, हास्य कलाकार उमेश राई, भैलाे कार्यक्रम संयोजक मञ्जु राई र रमाइलो समूहका सदस्यहरू उपस्थिति रहेकाे थियाे। साथै समूहकी सदस्य निनामबुङ नाछिरिङ राईको साेमबार परेकाे जन्मदिनको अवसरमा भोजनसेवा प्रदान गरिएको थियो।
कलाकार उमेश राईले आश्रमले गर्दै आएको मानवीय सेवाको प्रशंसा गर्दै, आश्रममा रहेका आश्रितहरूसँग सुखदुःख साटासाट गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे। साथै, राईले खुशी हुन चाहने सबैलाई मानवसेवा आश्रम आइ मानवीय सेवामा सरिक हुन समेत आग्रह समेत गर्नुभएकाे हाे ।

असोज २९ गतेदेखि धरानमा आश्रमको २७ औँ शाखा औपचारिक रूपमा सञ्चालनमा आएको हाे। शाखा विस्तारपछि ताप्लेजुङ, ओखलढुङ्गा, पाँचथर, सोलुखुम्बु र सुनसरी जिल्लाका सहयोगापेक्षीहरुलाई उद्धार गरी सेवा प्रदान गरिँदै आएकाे छ। हाल यस शाखामा २७ जना आश्रित संरक्षणमा रहेका छन् भने २ जनाको सुखद् पारिवारिक पुनर्मिलन पनि सम्पन्न भइसकेको छ।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र’ घोषणा गर्ने लक्ष्यसहित वि.सं.२०६९ साल भाद्र १३ गते हेटौँडाका मकवानपुरबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो।