बागलुङ। मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ निरयघाटमा कार्तिक २१ देखि २८ गतेसम्म सञ्चालन भएको महायज्ञको आर्थिक प्रगति विवरण शनिबार सार्वजनिक गरिएको छ। निरयघाटमा सञ्चालन भएकाे महायज्ञबाट ९ करोड ७७ लाख ७२ हजार ६१ रुपैयाँ दान प्राप्त भएको आश्रमकाे वित्त विभागले जानकारी दिएकाे हाे ।
विवरण अनुसार महायज्ञमा नगद, चेक र क्युआरमार्फत ७ करोड ६९ लाख १७ हजार २ सय ७५ रुपैयाँ प्राप्त भएको छ । साथै प्रतिबद्धता तर्फबाट कुल १ करोड ९० लाख ८४ हजार ६ सय ६० रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। प्रतिबद्धतामा सरकारी निकाय तथा स्थानीय तहबाट १ करोड २९ लाख ४१ हजार ९ सय २१ रुपैयाँ, व्यक्तिगत प्रतिबद्धता २५ लाख १० हजार ६ सय ६१ रुपैयाँ र संस्थागत प्रतिबद्धता ८५ लाख ७ हजार २ सय ५ रुपैयाँ रहेको छ।
महायज्ञमा दानपेटिकाबाट ९ लाख ९४ हजार ३ सय ६५ रुपैयाँ, तुलादानबाट ५ लाख ३८ हजार ५ सय ६१ रुपैयाँ र धानचामल बिक्रीबाट २ लाख ३८ हजार रुपैयाँ प्राप्त भएको आश्रमले जनाएको छ।
संकलित रकममध्ये अक्षयकोष शीर्षकमा ३० लाख ४७ हजार ६ सय ५९ रुपैयाँ, भवन निर्माण शीर्षकमा ५ करोड ६ लाख ४९ हजार १ सय ४९ रुपैयाँ र महायज्ञ व्यवस्थापन शीर्षकमा २ करोड ३४ लाख ९९ हजार ७ सय ७६ रुपैयाँ प्राप्त भएकाे छ।
यसैबीच कालिका भगवती मन्दिर व्यवस्थापन समितिले २०८२ मंसिर १ देखि २०८३ असार मसान्तसम्म उठाइने पार्किङ शुल्क भवन निर्माणमै प्रयोग गर्ने सहमति भएको छ।
बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाका साथै देश तथा विदेशमा रहेका मनकारी दाताहरूको साथ र सहयोगले महायज्ञ भव्य रूपमा सम्पन्न भएकाे हाे। निरयघाट क्षेत्रमा निर्माणाधीन मानवसेवा आश्रम बागलुङ शाखाको भवन आगामी चैत मसान्तसम्म सम्पन्न गरी २०० जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्ने लक्ष्य आश्रमले राखेको छ।