काठमाडौँ। ३१ वर्षीय हरि ओझा ललितपुरको टिकाथलीका स्थायी बासिन्दा हुन्। तर जीवनले उनलाई टिकाउन दिएको चुनौती कम छैन। आमाको मृत्यु भएको १७ वर्ष बितिसक्दा पनि त्यो पीडा उनको मनभित्र अझै ताजै छ। आमाको निधनको केही वर्षपछि बुवाले दोस्रो विवाह गरे, सानीआमाबाट भाइ जन्मियो र परिवार बढ्यो, तर हरिको मनभित्रको खालीपन भने झनै गहिरिँदै गयो। घरको वातावरण बदलिँदै गइरहँदा उनलाई साथ र स्याहारभन्दा बढी निराशा र बेवास्ताले घेर्न थाल्यो।
जीवनले फेरि अर्को ठूलो चाेट प्रहार गर्यो। पाँच वर्षअघि, गाडी मर्मत गर्ने पेशामा रमाउने, आफ्नै श्रममा गर्व गर्ने हरिको जीवन अचानक ह्वीलचेयरमा सीमित हुन भयाे। दुर्घटनापछि चिकित्सकले प्यारालाइसिस भएको बताए। गाडीको टायरले उनकाे ढाँड च्यापेर उक्त अवस्था सिर्जना गरेको कुरा उनले साथीहरूको मुखबाट थाहा पाए। अब उनी पहिलेझैँ शरीर चलाएर काम गर्न सक्दैनथे, दुर्घटनाले उनको कम्मरमुनिको आधा शरीर स्थायी रूपमा निष्क्रिय बनाइदियो।
भविष्य अन्धकारमय भएको अनुभूति गर्दै उनी १३ महिना अघि मानवसेवा आश्रम रानीवनसम्म आइपुगे । आश्रमकाे आँगनमा ह्वीलचेयरमा बसेका हरि, शरीरसँगै झुण्ड्याइएको पिसाब निकास नली, औषधिको गन्ध, र थकित अनुहार हेर्दा जीवनले दिएको चोटको गहिराइ सहजै बुझ्न सकिन्छ। उनी सुस्त आवाजमा बोल्छन्, बीच–बीचमा रोकिन्छन् र पीडाले भरिएका केही वाक्यहरू बिसाउँछन्।
उनको हिपमुनिको घाउ बढेकाे हुँदा दैनिक जीवनमा पीडा अझै जारी छ। अपांगता बोकेको शरीर, घरबाट पर्याप्त स्याहार नपाउनु, सानीआमा र बुवाबाटको असहज व्यवहार यी सबैले उनलाई घरमै ‘भार’ भएको अनुभूति गराइरहन्थ्यो।
यस्तै परिस्थितिमा एकजना दाइको सल्लाहमा हरि मानवसेवा आश्रम आए। अविवाहित हरि अझै पनि घर फर्कने कि आश्रममै बस्ने यही दोधारमा छन्। तर उनी भन्छन्, “कहिलेकाहीँ घरभन्दा आश्रम नै आफ्नै जस्तो लाग्छ। यहाँ धेरै सुरक्षित महसुस गर्छु।” आश्रमले दिएको स्याहार–सुसार, उपचार, साथी बनेका अन्य आश्रितहरू र सेवकहरूको व्यवहारले उनलाई फेरि जीवनप्रति भरोसा र बाँच्ने प्रेरणा दिइरहेका छन्।
मानवसेवा आश्रमले हरिलाई मात्र होइन, परिवारले साथ नदिएकाहरू, समाजले बेवास्ता गरेका, कमजोर शरीर र थकित मनहरूलाई पुनःजीवन प्रदान गर्दै आएको छ। आश्रमले धेरैजसो व्यक्तिलाई नयाँ घर, नयाँ आशा र नयाँ सुरुवातको बाटो दिएको छ।
हरिको कथा पनि त्यही हजारौँ कथामध्ये एक हो, जहाँ कठोर पीडाको अँध्यारोलाई मानवताको उज्यालोले फेरि जीवनतर्फ फर्काइ दिएको छ।