काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार र व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सम्झौता गरेको छ। सम्झौताअनुसार आश्रमलाई घर भाडा, मानव व्यवस्थापन र स्क्रिनिङ कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ भने सम्झौताको अवधि २०८३ असार मसान्तसम्मका लागि तय गरिएको छ।

बुधबार सम्झौता पत्रमा उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र आश्रमकी सहकोषाध्यक्ष सुमिरा लामाले हस्ताक्षर गरेका छन् ।
उपप्रमुख डंगोलका अनुसार “सडकमा बेवारिसे बनेका व्यक्तिहरूलाई मानवोचित व्यवस्थापन र पर्याप्त स्याहार आवश्यक छ। यही आवश्यकता पूरा गर्न हामीले मानवसेवा आश्रमसँग सहकार्य गरेका हौँ।”

महानगरपालिकाले विभिन्न कारणले घरबारविहीन भइ सडकपेटी र सार्वजनिक स्थलमा जीवन बिताइरहेका मानिसहरूको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनका लागि १ करोड रुपैयाँ उपलब्ध गराउनेछ। मानवसेवा आश्रमले यसमा ३० प्रतिशत थप गरेर काम गर्नेछ।

उद्धार गरिएका व्यक्तिहरूलाई खाना, औषधि उपचार र सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मा आश्रमले लिनेछ। हप्तामा एकपटक, राति ८ बजेदेखि १० बजेसम्म महानगर प्रहरी र आश्रमका अभियन्तासहित उद्धार कार्य सञ्चालन हुनेछ। उद्धार गरिएका व्यक्तिहरूको फोटोसहित विवरण महानगरपालिका र नजिकको प्रहरीमा बुझाउनु पर्नेछ। साथै, उमेरअनुसार पोषण प्याकेज उपलब्ध गराइनेछ।
सम्झौता अनुसार, आश्रमले उद्धार, उपचार र पालनपोषण गरेको व्यक्तिहरूलाई परिवारसँग पुनर्मिलन गराउँदा महानगरपालिका, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई जानकारी उपलब्ध गराउनुपर्नेछ।