बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न आयोजना हुन लागेकाे महायज्ञको तयारी र प्रचारप्रसार तीव्र पारिएको छ।
कात्तिक २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने महायज्ञलाई सफल बनाउन बागलुङ नगरपालिका–२ मा सचिवालय स्थापना गरिएको हो। सचिवालयबाट प्रचारप्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग संकलनका काम अघि बढाइएको छ।
आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिकाे कार्यालय बागलुङ, पर्वत, म्याग्दी जिल्लामा स्नेहमिलन कार्यक्रम समेत सम्पन्न गरिसकेकाे छ ।
मूल समारोह समितिका संयाेजक सहदेवराज भण्डारीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ। “सचिवालयबाट प्रचारप्रसार र जनसम्पर्ककाे काम सशक्त बनाइनेछ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो। महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने कार्यक्रम तय भएकाे छ । महायज्ञमा कथावाचनसँगै याेग शिविर, स्वास्थ शिविर, मानवता प्रवर्द्धन तथा उत्प्रेरणा सम्बन्धि कार्यक्रमका साथै भजन सन्ध्याका कार्यक्रम समेत सञ्चानल हुनेछन् ।
मानवसेवा आश्रम बागलुङमा ६६ जना सहयोगापेक्षीले आश्रय लिइरहेका छन् उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको आश्रमले उल्लेख गरेकाे छ ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै ४ करोड रुपैयाँ आवश्यक रहेको समितिले जनाएको छ।
२ सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण गर्न र अक्षयकोष श्रीवृद्धि गरी आश्रमकाे दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो।