रामेछाप । खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानी रामेछापका २३ वर्षीय दिनेश बुढाथोकीले मानवसेवा आश्रमको सहयोगमा अन्ततः नरकीय जीवनबाट मुक्ति पाएका छन् । करिब एक दशकदेखि मानसिक रूपमा अस्वस्थ दिनेश केही समय यता फलामे बारको कोठामा थुनिएर बाँच्न बाध्य थिए।
मंगलबार दिनेशको अवस्थाबारे जानकारी पाएपछि मानवसेवा आश्रम रानीवनकाे टाेली रामेछाप पुग्याे र स्थानीय जनप्रतिनिधि र नेपाल प्रहरीले संयुक्त प्रयासमा उनकाे उद्धार गरियाे ।
२०७२ सालको भूकम्पपछि मानसिक सन्तुलन गुमाएका दिनेशलाई परिवारले सुरक्षाको कारण देखाउँदै घरभित्रै थुनेर राख्दै आएको थियाे। परिवारले सकेजति प्रयास गर्दा पनि दिनेशलाई निकाे बनाउन नसकेनन् र अन्ततः काेठामा थुन्न बाध्य भएकाे जानकारी दिए ।

आर्थिक अवस्था कमजाेर भइ उपचारमा थप समस्या आएका दिनेशलाई उद्धार पश्चात् काठमाडौँस्थित रानीवन सेवाकेन्द्रमा ल्याई उपचार प्रक्रिया सुरु गरिएको आश्रमले जनाएको छ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले यो घटनाले मानसिक स्वास्थ्यप्रति जनचेतना जगाएको उल्लेख गर्दै आगामी वर्षकाे नीति तथा कार्यक्रममा यस्ता व्यक्तिहरूको पहिचान र उपचारका लागि विशेष योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्धारपछि दिनेशको पालनपोषण र उपचारको जिम्मा मानवसेवा आश्रमले लिएको छ ।
आश्रमका अभियन्ता कृष्ण पौडेलका भने, “दिनेशको उपचार सुरु भइसकेको छ। अब हामी उनको जीवनमा पुनः हाँसो ल्याउँदै सम्मानित जीवन प्रदान गर्नेछौँ।”
मानवसेवा आश्रमले यसैगरी विगतमा पनि मानसिक रोगका कारण फलामे साङ्लो वा बारभित्र बाँधिएका थुप्रै मानिसकाे उद्धार गरी मानवीय जीवन प्रदान गर्दै आएको छ। यस अभियानमार्फत आश्रमले समाजसेवामा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।