धरान । मानवसेवा आश्रम धरान शाखा भाेलिदेखि सञ्चालनमा आउने भएकाे छ । आश्रमले आफ्नो २१ औँ शाखा कार्यालयकाे स्थापना गर्दै भोलि गृह प्रवेश कार्यक्रम आयोजना गरेकाे हाे।
भाेलि असोज २९ गते बिहान १० बजे धरान उपमहानगरपालिका–१६, सनमार्गस्थित भाडाकाे घरमा आज बेलुका रात्रिकालीन सडकसेवा मार्फत उद्धार गरिएका सहयाेगापेक्षी आमाबुवाहरुलाई गृह प्रवेश गराइने कार्यक्रम रहेकाे आश्रमले जानकारी दिएको छ।
सडकसेवामा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शुभेच्छुक, पत्रकार, स्वयंसेवक तथा आश्रमका अभियन्ताहरूको सहभागिता रहनेछ। बजार क्षेत्रमा रहेका बेवारिसे मानवहरुकाे खाेजी गर्दै आश्रमले वास्तविक सहयाेगापेक्षीहरुकाे पहिचान गरी सेवा प्रदान गर्ने जनाएकाे छ ।
आश्रमका अनुसार नयाँ भवनको गृह प्रवेश कार्यक्रम मानवता प्रवर्द्धन अभियानको निरन्तर यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हुनेछ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि देशभरिका असहाय, बेवारिसे, सडकआश्रित र सहयोगापेक्षी नागरिकहरूको उद्धार, संरक्षण र पुनर्मिलन गर्दै आइरहेको छ।
मानवसेवा आश्रमकाे कान्छाे शाखामा रुपमा स्थापित धरान शाखाले अबदेखि सुनसरी तथा छिमेकी जिल्लामा रहेका सहयाेगापेक्षी सडकआश्रित मानवहरुकाे उचित व्यवस्थापन गर्दै आफ्नो मानवता प्रवर्द्धन अभियानलाई थप सशक्त बनाउने उपेक्षा गरिएकाे छ ।
आश्रमले २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने गरी अभियानलाई तीव्र रुपमा अगाडि बढाइरहेकाे छ ।