काठमाडौँ । कुनै समयका उम्दा लोक तथा देउडा गायक पाण्डव बिष्ट अहिले मानवसेवा आश्रम रानीवन शाखाको संरक्षणमा जीवन बिताइरहेका छन्। ‘कर्णालीको हिरा’ भनेर चिनिने बिष्ट रक्सीको लतमा परेपछि सडकमा बेवारिसे जीवन बिताइरहेका बेला आश्रमले उद्धार गरेको हो।
लोक तथा देउडा गायक पाण्डव बिष्ट कर्णाली प्रदेश, कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ का स्थायी बासिन्दा हुन्।
बाल्यकालमै आमा–बुबा गुमाएर टुहुरा बनेका बिष्ट सानै उमेरमा माओवादी द्वन्द्वकालमा भूमिगत रहेर क्रान्तिकारी गीत गाउँदै हिँडे। सशक्त स्वर र जोशपूर्ण गायनका कारण उनी माओवादी आन्दोलनको ‘स्वर–सैनिक’का रूपमा चिनिन्थे।
त्यही क्रममा बझाङकी छायाँ खड्कासँग उनले क्रान्तिकारी विवाह गरे, तर संगठनका कारण दुवै फरक ठाउँमा खटिएपछि सम्पर्क टुट्यो र दुवै अलग–अलग जीवनमा लागे।
माओवादी आन्दोलनपछि देशमा गणतन्त्र आएसँगै बिष्ट पुनः संगीतमा फर्किए। उनका देउडा, ठाडी भाका र लोकदोहोरी गीतहरूले बजार लिएकाे थियो। हालसम्म उनले २५० भन्दाबढी गीत गाइसकेका छन्।
धनगढीको एक कार्यक्रममा चर्चित गायिका पवित्रा भण्डारीसँग भेट भएपछि उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भयाे र वि.सं. २०६५ मा नेपालगञ्जको बागेश्वरी मन्दिरमा विवाह गरे। तर उमेरको फरक र आपसी शंका–उपशंकाका कारण वैवाहिक सम्बन्ध टिक्न सकेन।
जीवनमा परिवार र सम्बन्ध दुवैतिरबाट साथ नपाएपछि बिष्ट रक्सीमा डुब्दै गए। रक्सीको नशामा मोटरसाइकल दुर्घटनामा परेपछि ढाडमा चोट लाग्यो, जसले उनलाई शारीरिकरूपमा कमजोर बनायो। उपचारमा ढिलाइ र निरन्तर रक्सी सेवनले अवस्था झन् बिग्रियो।
हाल उनी सीधा उभिन सक्दैनन्, तर आफ्ना दैनिक काम आफैं गर्न सक्छन्। स्वरमा भने आज पनि पहिले जस्तै जादु बाँकी छ।
मानवसेवा आश्रमको माया र सेवा पाएपछि बिष्टले जीवनमा पुनः नयाँ अध्याय लेख्ने लक्ष्य बनाएका छन्। “अब बाँकी जीवन मानवसेवा र संगीतमै समर्पित गर्नेछु,” उनले मुस्कुराउँदै भने।
आश्रमले उनकाे थप उपचार र साङ्गीतिक यात्रालाई पुनर्जीवित पार्न सहयोग गर्ने जनाएको छ।