मकवानपुर - मानवता र सेवा भावनालाई केन्द्रमा राख्दै भारतको श्रद्धा फाउन्डेसन र मानव सेवा आश्रमबिच औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतका मावाणिज्यदूत श्री देवी सहाइ मीनाकाे प्रमुख आतिथ्यतामा श्रद्धा रिह्याबिलिटेसन फाउण्डेसनका अध्यक्ष डा. भरत मणिराम र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सोमबार आश्रमको मुख्यालय हेटौँडामा एमओयुमा हस्ताक्षर गर्नु भएको हो ।

कार्यक्रममा श्रद्धा फाउन्डेसन भारतका अध्यक्ष डा. भरत मणिराम वातवानीले मानव सेवा आश्रमले गरिरहेको सेवा कार्यको उच्च प्रशंसा गर्दै यो सम्झौतामार्फत नेपाल र भारतमा मानवता प्रवर्द्धनका लागि अझ ठुलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हामीले आश्रमसँग हातेमालो गर्दै सामाजिक उत्तरदायित्वमा साझा यात्रा सुरु गर्न लागेका छौँ,” उहाँले भन्नुभयो ।

एमओयु कार्यक्रममा हस्ताक्षर गर्नुहुँदै मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले श्रद्धा फाउन्डेसन र मानव सेवा आश्रमबिचको एमओयुले अब नेपालमा उद्धार भएका भारतीय नागरिकलाई श्रद्धा फाउन्डेसनले परिवारको खोजी गरी पुनर्मिलन गराउने र भारतमा उद्धार भएका नेपालीलाई मानव सेवा आश्रममार्फत संरक्षण र परिवारको खोजी गरी पुनर्मिलन गराउने ढोको खुलेको बताउनु भयो । यसका लागि दुई देश बिच हुने प्रक्रियाहरू पुरा गरिने अध्यक्ष अधिकारीले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि भारतका महावाणिज्यदूत (Consul General of India वीरगञ्ज) श्री देवी सहाइ मीनाले मानवीय कार्यमा दुई देशका दुई सामाजिक संस्थाहरूबिच भएको एमओयुले दुवै देशमा मानवता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

मानव सेवा आश्रमका अभिभावक भोला स्वामीले आश्रममार्फत भारतका सडकमा जीवन बिताइरहेका नेपाली नागरिकहरूको उद्धार गरी पारिवारिक पुनर्मिलन गराउँदा भोगिएको अनुभव र चुनौतीहरूबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुर, विभिन्न संस्था र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । आश्रम र फाउन्डेसन बिचको एमओयुलाई मानवता प्रवर्द्धनतर्फको ऐतिहासिक कदमको रूपमा हेरिएको छ ।
