जनकपुरधाम – मानवसेवा आश्रम, जनकपुरधाम धनुषामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आश्रममा आश्रित ५८ जना लक्ष्मीनारायणहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । स्वास्थ्य शिविरमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


मुटु रोग विशेषज्ञ डा. राजेश साह, अर्थोपेडिक सर्जन डा. सञ्जय कुमार साह र डा. रोशन कुमार साह, ओरल तथा म्याक्सिलोफेसियल विशेषज्ञ डा. सौरभ कर्ण, दन्त रोग विशेषज्ञ डा. खु्स्बु गुप्ता र छालारोग विशेषज्ञ डा. राकेश पाण्डे लगायतका चिकित्सकहरूले सेवाप्रदान गर्नुभएको थियो । शिविरमा सहभागी अधिकांश चिकित्सकहरूले मानवसेवा आश्रमलाई आवश्यक परेको जुनसुकै समयमा पनि निःशुल्क सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शिविरको संयोजन मानवसेवा आश्रमका अभिभावक समेत रहनुभएका डा. राजेश साहको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको आयोजना लायन्स क्लव अफ जनकपुरधाम, लायन्स क्लव अफ जनकपुरधाम गार्गी र लियो क्लव अफ जनकपुरधामले गरेको हो ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।

आश्रमले २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।