मानवसेवा आश्रम लुम्बिनी प्रदेश शाखा कार्यालय, तुलसीपुर दाङमा आइतबार विशेष पूजा गरी भवन निर्माण सेवा शुभारम्भ गरिएको छ । प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले भवन निर्माण शुभारम्भ गर्नु भएको हो ।

भौतिक विकास प्रवर्द्धन परिवार दाङ जिल्लाका संयोजक दिल्लीबहादुर बस्नेतको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममा मानव सेवा आश्रमका परिकल्पनाकार संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको अभियानहरूका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, लगायतले शुभभावना व्यक्त गर्नु भयाे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरी, तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष तुलसी थापा, तुलसीपुर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसी, उद्योग वाणिज्य संघ, व्यापार संघ तथा यातायात व्यवसायी संघ लगायत प्रतिनिधिमूलक सहभागिता रहेकाे थियाे भने आश्रमका अभिभावक लगायत सरोकारवाला विज्ञहरूको उपस्थिति रहेको थियो ।

मानवताको मन्दिर लुम्बिनी प्रदेशको सेवाकेन्द्रका लागि निर्माण सुरु भएको भवन १६ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।