पोखरा - मानवता प्रवर्द्धन अभियानमा हातेमालो गर्न पोखरा महानगरपालिकाले मानवसेवा आश्रमसँग प्रतिबद्धता जनाएको छ । मानवसेवा आश्रमसँगको छलफलका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुनर्स्थापनाका लागि आवश्यक समन्वय गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको हो । पर्यटकीय केन्द्र पोखरामा विभिन्न कारणले बेसहारा बनी कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरूको उद्धार र व्यवस्थापन गर्दै मानव मर्यादाको सम्मानका लागि महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभएको हो ।
मानवसेवा आश्रमको नेपाललाई २०८२ भित्र सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य र पोखरा महानगरपालिकासँग साझेदारी लगायतका विषयमा केन्द्रित छलफल गरेको थियो । नगर प्रमुख आचार्यले पोखराको छोरेपाटन र हेमजामा सञ्चालनमा रहेको आश्रमको थप व्यवस्थापनका लागि आवश्यक साझेदारीका लागि तत्पर रहेको समेत बताउनुभएको छ ।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुनर्स्थापना सहित २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मिसन २०८२ सञ्चालन गरिएको बताउनुभयो । आश्रमले १२ वर्षमा प्रतिदिन औसत तीन जनाका दरले ११ हजार ५ सय १४ जनाको उद्धार गरेको अध्यक्ष अधिकारीले कार्यक्रमका सहभागीहरूलाई जानकारी गराउनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेता राधिका कुमारी शाही योगी, वडा अध्यक्षहरू प्रकाशमान उदास, राम मोहन आचार्य, रुद्रनाथ बराल, दीपेन्द्र मर्सानी, शिवप्रसाद तिमिल्सीना, हिमलाल बराल, दुर्गा सुवेदी लगायत महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।