चितवन- मानवसेवा आश्रम चितवन सेवाकेन्द्रले भरतपुर महानगरपालिका शृष्टी चोक क्षेत्रबाट बेवारिसे अवस्थामा रहेकी एक महिलाको उद्धार गरेको छ । शनिबार रात्रीकालिन उद्वार सेवा अन्तरगत प्रहरीको सहयोगमा उद्धार गरिएकी महिला ९० वर्षिया इच्छादेवी अधिकारी नामकी जेष्ठ मानव हुनुहुन्छ ।
उहाँलाई चितवन सेवाकेन्द्रको आश्रयमा राखिएको छ । उहाँको ठेगाना पहिचान गर्ने कार्यसँगै परिवारको खोजी भइरहेको चितवन सेवाकेन्द्रले जनाएको छ ।
मानव सेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ ।
आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो । ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २७ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ । आश्रमले २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र नेपाल औपचारिक रूपमा घोषणा गर्न तीव्र रूपमा ‘मिसन २०८२’ अभियान सञ्चालन गरिरहेको छ । साेही अनुरूप उद्वार कार्यलाई तिव्रता दिँदै आएको छ ।