रुपन्देही - मानवसेवा आश्रमको सहकार्यमा मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत २०८२ सालको यो पहिलो घोषणा हो । यस अघि नै गण्डकी र कर्णाली प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भइसकेको छ । त्यसैगरी मकवानपुर जिल्ला, महानगरपालिकाहरुमा भरतपुर महानगरपालिका, गोरखा नगरपालिका, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका, बुटवल उपमहानगरपालिका लगायतका स्थानिय तहहरूसहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भइसकेका छन् । आश्रमले २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तमा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयो ।

मंगलबार, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र सराकोरवाला सरकारी निकायहरुको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो । घोषणा सँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । घोषणाका क्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएको थियो । उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । नगर प्रमुख रामकृष्ण खाणले सबैको सहयोगले यो काम सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरे मात्र समाज रूपान्तरण गर्न सकिने बताउनुभयो । उहाँले स्वागतयोग्य काम भएको भन्दै अब कार्यान्वयनमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सुरेन्द्र श्री, जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरू लगायतको सहभागिता रहेको थियो । आश्रमको तिलोत्तमा सेवा केन्द्रले हालसम्म ७ सय १७ जनाको उद्धार, ३ सय ७२ जनाको पारिवारिक तथा सामुदायिक पुर्नस्थापना गराइसकेको छ । त्यसमध्ये १ सय २८ जनाको निधन भएको आश्रमको तथ्यांकमा उल्लेख छ । हाल तिलोत्तमा सेवाकेन्द्रमा १ सय ३९ जना आश्रित छन् ।
मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्ष अघि देखि सहयोगापेक्षी सडक आश्रित मानवहरुका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको छ । आश्रमले हालसम्म मुलुकभरबाट (मंगलबार अपरान्हसम्म) ११ हजार ४ सय ३६ जनाको उद्धार गरिसकेको छ । ती मध्ये महिला ४ हजार ३ सय ४८ र पुरुष ७ हजार ८५ जना उद्धार भएका छन् । त्यस्तै मंगलबारसम्म आश्रमले ५ हजार ५ सय ८२ जना आश्रितलाई सुखद पारिवारिक पुनर्मिलन तथा सामुदायिक पुनस्र्थापना गरिसकेको छ । यस अवधिमा १५ सय १२ जनाको निधन भएको आश्रमले जनाएको छ ।
आश्रमले मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल घोषणा गर्न मिसन–२०८२ अभियान सञ्चालन गरिरहेको छ । मंगलबारको घोषणाले तिलोत्तमा नगरपालिका मिसन २०८२ अभिायान अन्तरगत पहिलो ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ नगरपालिका बनेको छ । आश्रमले स्थानीय तह, मुलुकको सातवटै प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्दै यही वर्ष सिङ्गो नेपाल ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने योजना छ । आश्रमले स्थानीय निकाय, प्रदेश सरकार र संघ सरका, सबै राजनैतिक दल, निजी क्षेत्र र संघसंस्थाहरुको साथ र सहयोग पाइरहेको आश्रमले जनाएको छ ।
मानव सेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो । ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।