हेटाैंडा । मानवसेवा आश्रम र नेपाल इन्स्टिच्युटअफ मेन्टल हेल्थ (एनआइओएमएच) बीच एकीकृत मानसिक स्वास्थ्य सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
आइतबार मानवसेवा आश्रम र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच आश्रमको मुख्यालय हेटौंडामा उक्त सम्झौता भएको हो । मानवसेवा आश्रमको तर्फबाट केन्द्रीय अध्यक्ष रामजी अधिकारी र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको तर्फबाट कार्यकारी निर्देशक डा. श्रीधर पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
मानवसेवा आश्रम ले सडकजीवन बिताउन विवश, घरबार विहीन, बेसहारा तथा जीवन जोखिममा रहेका अनाथ,अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्धार, पालनपोषण, संरक्षण, पुनस्थापना एवं पारिवारिक पुनर्मिलन कार्य गरिरहेकोमा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले सो आश्रममा रहेका व्यक्तिहरुको मानसिक स्वास्थ्य सेवालाई लक्षित गरी आवश्यक सहयोग पुर्याउने उद्देश्यका साथ उक्त सम्झौता भएको आश्रमले जनाएको छ ।
सम्झौतापछि आश्रममा आश्रित सहयोगापेक्षी मानवहरुको मानसिक स्वास्थ्य सेवालाई प्राथमिकताका साथ सेवा प्रदान गर्न नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र मानवसेवा आश्रमले सयुक्त रुपमा कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको छ ।
मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्ष अघि देखि सहयोगापेक्षी सडक आश्रित मानवहरुका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको छ । यही २०८२ सालभित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिरहेको आश्रमलाई नेता, समाजसेवी मनकारी दाताहरुका साथै सरकारको साथ र सहयोग रहेको छ ।