काठमाडाैँ । मानवसेवा आश्रमका विभिन्र सेवाकेन्द्रहरूद्वारा रात्रिकालीन सडकसेवा अभियान अन्तरगत गए राति (शनिबार) १८ जना सहयाेगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकाे छ । मानवसेवा आश्रमका सबै सेवाकेन्द्रबाट साप्ताहिक रूपमा सञ्चालन भइरहेकाे रात्रिकालीन सडकसेवा प्रभावकारी बन्दै गइरहेकाे छ। गएराति सबै सेवाकेन्द्रले रात्रिकालीन सडकसेवा गरे पनि केही सेवाकेन्द्रहरूबाट मात्र सहयाेगापेक्षीकाे उद्धार भएकाे आश्रमले जनाएकाे छ । उद्धारमार्फत सडकमा बेवारिसे अवस्थामा रहेका सडकआश्रित मानवहरू आश्रमको संरक्षणमा रहने छन् ।
शनिबार राति रूपन्देहीकाे तिलाेत्तमा सेवाकेन्द्रबाट ९ जना, जनकपुर सेवाकेन्द्रबाट २ जना, पोखरा हेम्जा सेवाकेन्द्रबाट १ जना, चितवन सेवाकेन्द्रबाट ३, सुर्खेत सेवाकेन्द्रबाट १ रानीवन सेवाकेन्द्रबा २ जना गरी १८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको हाे ।
मानवसेवा आश्रमले देशैभरिका सडकपेटी तथा सार्वजिनक स्थलमा बेवारिसे जीवन बिताइरहेका सडकआश्रित मानवहरुलाइ स्थानीय तह, प्रहरी प्रशासन तथा मानवसेवा आश्रमका समर्पित अभियन्तासँगको सहकार्यमा पहिचान र उद्धार गरी साप्ताहिक रूपमा रात्रिकालिन उद्वार अभियान सञ्चालन गरिरहेकाे छ ।
समानवसेवा आश्रम विगत १२ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको एक गैरनाफामूलक सामाजिक संस्था हाे । सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मुक्त नेपाल घोषणा गर्ने कार्यक्रम अघि सारिसकेको छ । सोही आधारमा टेकेर मानवसेवा आश्रमले २०८२ लाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त अभियान सञ्चालन गरिरहेको छ ।