काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवंगत श्रीमती सिता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवाकेन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ । उहाँले पत्नी सिता दाहालको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको बताउनु भयो ।

स्मृति दिवसको दिन आश्रममा आश्रित २५० सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि खाद्यान्न सामग्री र एक लाख रुपैयाँ नगद योगदान गर्नु भएको छ । साथै आश्रमका गरिमा लक्ष्मीनारायण र बालगोपालहरुलाई आफ्नै हातले भोजन वितरण गर्नु भयो ।
स्मृति दिवसका आश्रमका अभिभावक र आश्रितहरूलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको बताउनु भयो । मानवसेवा आश्रमको मानवता प्रवर्धनका कार्यले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा चुलिँदै गएको बताउनु भयो । आफू प्रधानमन्त्री छँदा हेटौँडास्थित मानवसेवा आश्रमको मुख्यालय उद्घाटन गरेको सन्दर्भ स्मरण गर्नु भयो ।

पूर्व प्रधानमन्त्री दाहालले आफू सरकारमा छँदा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र मानवीय सेवाका लागि सात वटै प्रदेशका लागि ७ ओटा गाडी उपलब्ध गराउन मन्त्री परिषदबाटै निर्णय गरेर प्रक्रिया अघि बढाएको तर अझै पनि आश्रमले उक्त सवारी प्राप्त नगरेको आश्रममा आएपछि थाहा भएको बताउनु भयो ।
उहाँले विगतमा आफ्नो सरकारले आश्रमका लागि गरेका निर्णय कार्यान्वयनका लागि विपक्षी दलको तर्फबाट पहल गर्ने आफुल आश्वासन दिनु भयो । आफूहरू सर्वहारा जनताका लागि लडेको बताउनु हुँदै उहाँले वास्तविक सर्वााहाराको अभिभावक मानवसेवा आश्रम बनेको आशय व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको विगत वर्तमान र आगामी योजनाबारे अध्यक्ष दाहाललाई जानकारी गराउनु भएको थियो । उहाँका साथमा उहाँको परिवारको समेत उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ । आश्रमले २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल निर्माणा गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।